नरिवलको महिमा

Saturday, December 12, 2009

कमला श्रेष्ठ (प्रधान)


संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा कोकोनट भनिन्छ । खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम कोकस न्युसिफेरा हो ।
नरिवलको खेती समुद्रतटीय इलाकामा प्रशस्त हुने गर्दछ । खास गरी भारत, श्रीलङ्का, इण्डोनेसिया, फिलिपिन्स, इष्ट तथा वेस्ट इण्डिज र मध्यअमेरिकी देशमा पाइने नरिवल हाम्रो देश समुद्रको तटबाट टाढा रहे पनि पूर्वी नेपालका भित्री मधेस र तराईमा फल खेती मौलाएको पाइन्छ । नरिवल सात देखि आठ वर्षपछि फल दिन थाल्छ । नरिवललाई विशेष राम्रो मलजल दिन सकेमा ५० वर्षसम्म लगातार फल दिइरहन सक्छ । नरिवलको रूखको उचाइ ५० देखि १०० फिटसम्मको अग्लो हुने गर्दछ । एउटै बोटले वर्षमा ६० देखि एक सय वटासम्म फल दिन्छ ।
नरिवल कतिपय देशको अर्थ व्यवस्थाको मेरुदण्डसमेत बनेर रहेको छ । कतिपय श्रीलङ्का, फिलिपिन्स, इन्डोनेसियालीहरूको जीविकाको स्रोत नै नरिवल खेती मानिन्छ । भनिन्छ, भारतीय नरिवलभन्दा फिलिपिन्स, इण्डोनेसिया, श्रीलङ्काको नरिवलमा दोब्बर गुदी हुन्छ साथै स्वादमा पनि निकै उच्च मानिन्छ ।
यसलाई धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महìवपूर्ण फलको रूपमा लिइएको पाइन्छ । स्वास्थ्य विशेषज्ञहरू भन्दछन्- नरिवलमा भिटामिन 'ए', कम भए पनि प्रोटिन, एमिनोएसिड र भिटामिन 'बी' को मात्रा प्रशस्त पाइन्छ । एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ ।
आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ । नरिवलको पानीको गुणको बेग्लै बखान छ । सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई 'मिनरल वाटर' पनि भन्ने गरिन्छ । थुप्रै गुणले सम्पन्न हुनुका साथै स्वास्थ्यबर्द्धक पनि भएकोले नरिवललाई स्वास्थ्य विज्ञानले एक उत्तम भिटामिनको रूपमा स्वीकारेको हो । बहुउपयोगीको रूपमा नरिवलको रूखलाई लिने गरिन्छ । रूखको काठले अनेकौँ घरेलु उपयोगी सामान बनाउने र इन्धनको रूपमा समेत प्रयोग गर्ने गरिन्छ । रूखका पातले पङ्खा, थैला र गुन्द्री बुन्ने गरिन्छ । यसको रेसा अर्थात् जटाले कार्पेट, डोरी र ब्रस आदि बनाइन्छ ।
पाकेको नरिवलमा भन्दा काँचो नरिवलमा धेरै सुपाच्य इन्जाइमहरू पाइने हुनाले यसलाई अरू फलहरूभन्दा केही उत्तम भएको दावी गरिन्छ । उल्टी, पेटको अल्सर, ग्यास्टि्रक आदि रोगका लागि यसको पानी लाभकारी मानिन्छ भने कब्जियत, झाडाबान्ता, पिसाब रोग, अनिद्रा आदिमा औषधिको रूपमा दिइन्छ । यस्तै, आमाको दूध बराबर हुनाले साना नानीहरूका निम्ति बढी लाभकारीसमेत मानिन्छ । नरिवलको फल बात एवं पित्तनाशक मानिन्छ । नरिवलको फूल मधुमेहका रोगीलाई लाभदायक हुन्छ भने वीर्यबर्द्धक एवं छालाका अनेक रोग हटाइदिनुका साथै सौन्दर्यवृद्धिमा समेत उत्तिकै उपयोगी मानिन्छ । काँचो नरिवलको पानीले हरेक दिन अनुहारमा मालिस गर्नाले मुहारको फुस्रोपन हराउँदै जान्छ र अनुहार आकर्षक देखिन्छ । नरिवलको तेल कपालमा सधैँ लगाएमा कपाल छिट्टै फुल्दैन ।
नरिवलको फल तथा तेलको सेवनबाट प्रशस्त पौष्टिक तìवहरू सजिलै पाउन सक्तछन् । त्यसमा पनि पिसाबका रोगी तथा मुटुका रोगीहरूका लागि त यो ज्यादै गुणकारी सावित भएको छ ।
विभिन्न पूजाआजा तथा शुभकार्यमा जटासहितको नरिवल अर्पण गर्दा कामना पूरा हुन्छ भन्ने जनविश्वासले नरिवलको महिमा अझ गहन बनाएको छ । प्राकृतिक सौन्दर्यमा हरियाली छर्दै उज्यालो पार्ने यस्तो वनस्पतिलाई लच्छिनको प्रतीक मानिन्छ ।

0 comments: