नेपाली महिलाको स्तर बढ्यो

Saturday, December 12, 2009


नेपाली महिलालाई धेरै बधाई, तीन वर्षमा देशले विश्वको लैंगिक समानताको सूचांकमा ठूलो फड्को मारेकोमा । महिलाका क्षेत्रमा कार्य गरिरहेकाहरूले नेपाली महिलाको बढ्दो प्रगतिलाई ठूलो उपलब्धि मानेका छन् । देशमा व्याप्त हिंसा एवं महिला-पुरुषबीच बढ्दो असमानता भएको देशका रूपमा चिनिएको नेपाल महिलाका मामिलामा केही वर्षयता लगातार माथि उक्लिएको छ । यो सफलतासँगै भारत र पाकिस्तानजस्ता मुलुकलाई उछिनेर आफूलाई १ सय १० औं स्थानमा पुगेको छ । अझै पनि ग्रामीण क्षेत्रमा महिलालाई साधन र स्रोतबाट वञ्चित गरिने अवस्थाको अन्त्य नभए पनि पछिल्लो तथ्यांकले महिलालाई गौरवान्वित बनाएको छ ।

भारतको नयाँ दिल्लीमा गत महिना विश्व आर्थिक फोरमले गरेको पुरुष-महिलाबीचको तुलना 'लैंगिक ग्याप रिभ्यु २००९' मा १ सय ३४ देशका महिलाको अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले नेपाल १ सय १० औं स्थानमा परेको देखाएको छ । यसअघि २००८ मा नेपाली महिलाको अवस्था १ सय २० औं स्थानमा थियो भने २००७ मा १ सय २५ औं स्थानमा थियो । यसले नेपाली महिलाले प्रत्येक वर्ष देशको साधन स्रोत उपयोगमा हात बढाउन थालेका छन् भन्ने देखाउँछ । भारतको आर्थिक समिटमा प्रकाशित उक्त रिपोर्टले दक्षिण एसियाका दुई देश श्रीलंका र बंलादेशका महिलाको स्थिति निकै सबल भएको देखाएको छ । यी दुई मुलुक क्रमशः १६ औं र ९४ औं स्थानमा परेका छन् ।

आर्थिक सहभागिता तथा अवसर, शिक्षाको पहुँच, राजनैतिक सशक्तीकरण, स्वास्थ्य र जीविकोपार्जन गरी चार जोखिमयुक्त क्षेत्रमा हुने महिला र पुरुषबीचको भेदभावलाई आधार मानी उक्त अनुसन्धान गरिएको थियो । अनुसन्धानमा ती देशका महिला र पुरुषले कसरी स्रोत साधनको सदुपयोग गरिरहेका छन् भन्ने विषयलाई अध्ययनको आधार बनाएको थियो ।

अध्ययनअनुसार नेपालले महिलालाई आर्थिक क्षेत्रमा सहभागिता तथा अवसर दिने सूचांकमा १ सय १६ औं स्थान, शिक्षाको पहुँचमा १ सय २५ औं स्थान, स्वास्थ्य र जीविकोपार्जनमा १ सय २३ औं स्थान एवं राजनैतिक सशक्तीकरणमा ३५ औं स्थान पाएको छ । यी सबै तथ्यांकले नेपालमा महिलाले राजनीतिमा बढी अवसर पाएको देखाएको छ । दोस्रो जनआन्दोलनपछि नेपाली राजनीतिमा महिलाको स्थान, संविधानसभामा महिलाको संख्या एवं सबै क्षेत्रमा ३३ प्रतिशत आरक्षणका कारण महिलाको स्थान उक्लिएको विश्लेषण गरिएको छ ।

महिला-पुरुषबीच असमानताको खाडल रहेको ऐतिहासिक पृष्ठभूमि भएको देशमा प्रत्येक वर्ष महिलाका पक्षमा सकारात्मक प्रभाव देखिनुले हामी निरन्तर प्रगतिमा छौं भन्ने देखाउँछ । '१ सय ३४ देशमध्ये १ सय १० औं स्थानमा रहनु सकारात्मक कुरा हो ।' महिला अधिकारकर्मी तथा एबीसी नेपालीकी अध्यक्ष दुर्गा घिमिरे भन्छिन्, 'यद्यपि यसैमा चित्त बुझाउने अवस्था छैन, कारण कतिपय बुँदामा हामी अझै तल छौं ।' महिला मन्त्रीको संख्या बढ्दै जानुलाई पनि घिमिरेले सकारात्मक मानेकी छन् ।

देशमा महिलाको अवस्था कस्तो छ भन्ने साधारण चित्रण ती देशका महिलाले राजनैतिक स्वतन्त्रता कसरी उपयोग गरिरहेका छन् भन्ने प्रश्नसँग नजिक हुन्छ । पहिलो जनआन्दोलनपछि महिलाले स्वतन्त्र राजनीतिमा विचरण गर्न थालेयता नै महिलाको अवस्था सुदृढ हुन थालेको हो । यसको परिणाम अहिले देखिन थालेको छ । २०४६ सालपछि प्रतिनिधिसभामा महिलाको सहभागिता ६ दशमलव ४ प्रतिशत मात्र थियो । त्यसबेला राजनैतिक स्वतन्त्रता प्राप्त भए पनि महिलाहरू अहिलेको राजनीतिमा गैहाल्ने वातावरण बनिसकेको थिएन । समयसँगै यो परिवर्तन हुँदै गयो । फलस्वरूप आज संविधानसभामा महिलाको संख्या ३३ प्रतिशत पुगेको छ ।

रिपोर्टअनुसार रोजगार, शिक्षा र स्वास्थ्यमा महिलाको पहुँच थप सुदृढ बढाउने हो भने यो सूचकांक अझै बढ्ने देखिन्छ । निर्णायक स्थानमा नेपाली महिलाको संख्या बढ्न थाले पनि त्यो पर्याप्त छैन । यसलाई सुधार गर्ने हो भने पनि यो सूचांक बढ्ने संकेत रिपोर्टमा उल्लेख छ ।

यो रिपोर्टले महिला र पुरुषबीच साधन र स्रोतमा समान पहुँच पुर्‍याउन ठूलो भूमिका निर्वाह गर्नुका साथै महिला जागरण ल्याउन पनि सहयोग गर्ने आशा गर्न सकिन्छ । महिला हक हितमा वकालत गर्ने व्यक्तिका लागि यो महिला-पुरुषबीचको असमानता ३ वर्षमै आश्चर्यजनक रूपमा कम हुँदै जानु खुसीको कुरा मानिएको छ । यसले सम्बन्धित कार्यमा लागेकाहरूलाई बल मिल्ने आशा गर्न सकिन्छ ।




सार्क राष्ट्रको सूचांक


श्रीलंका १६ औं

बंलादेश ९४ औं

माल्दिप्स १०० औं

नेपाल ११० औं

भारत ११४ औं

पाकिस्तान १३२ औं

0 comments: