कफीलाई राष्ट्रिय उत्पादनका रूपमा प्राथमिकता दिन सरकार तयार

Sunday, December 6, 2009


अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो माग रहेको नेपाली कफीको विकासका लागि सरकारले सबै किसिमका प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

राष्ट्रिय कफी दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा सहभागी उपप्रधानमन्त्री तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार र कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले नेपाली कफी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आवश्यक नीतिगत निर्णय एवं तीनवर्षे कफी विकास कार्ययोजना लागू गर्न सरकारको प्रतिवद्धता जनाउनुभयो ।

वातावरणीय दृष्टिले मात्र नभएर मानव स्वास्थ्यका लागि पनि हितकर नेपालमा उत्पादित प्राङ्गारिक कफीको अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो माग रहे पनि पर्याप्त मात्रामा उत्पादन र गुणस्तर परीक्षणका लागि प्रयोगशाला र अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको छुट्टै ब्रान्ड -लोगो) को व्यवस्था गर्न सकिएको छैन ।

प्राङ्गारिक कफीको प्रवर्द्धन गरौँ, वातावरण जोगाइ आम्दानी बढाऔँ भन्ने नाराका साथ यस वर्षको कफी दिवसमा आयोजित कार्यक्रममा सहभागी कफी व्यवसायी एवं उद्योगीले ऐलानी जग्गा, सामुदायिक वनलाई कफी खेतीको लागि प्रयोग गर्न, विश्व बजारमा व्यवस्थित बजारीकरणको व्यवस्था मिलाई दिन, अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्न सरकारसँग माग गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले चिया र कफीलाई राष्ट्रिय उत्पादनको रुपमा प्राथमिकमा राख्न सरकार तयार रहेको बताउनुभयो । उहाँले चिया र कफीको सम्भावना बढिरहेको बताउँदै नेपालमा पनि यसको उत्पादन विस्तार गर्न नीतिगत निर्णयका लागि सरकारले पूरा सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

पर्याप्त प्रचारप्रसार र चेतनाको अभावले मुलुकभित्रै कफीको बजारीकरण गर्न नसकिएको बताउँदै उपप्रधानमन्त्री गच्छदारले मध्य पहाडी क्षेत्रमा यसको व्यावसायिक उत्पादनको विकास गर्न सकिए कृषि क्षेत्रको मात्र नभएर समग्र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले कृषि प्रधान भनिँदै आएको मुलुक खाद्यान्नमा परनिर्भर हुँदै गएको कृषकहरूको स्थिति दयनीय बन्दै गएको प्रति चिन्ता प्रकट गदै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन लाग्नुपर्न धारणा राख्नुभयो ।

कृषि तथा सहकारी मन्त्री करिमा वेगमले नेपाली गुणस्तरीय कफी विश्व बजारसम्म पुर्‍याउन भएका कमीकमजोरी सुधार गरी आवश्यक सबै काम गर्न सरकार तयार रहेको बताउनुभयो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको त्यस कार्यक्रममा बोर्डका उपाध्यक्ष अशोककुमार मुरारका, बार्डका कार्यकारी निर्देशक विनयकुमार मिश्र, नेपाल कफी व्यवसायी महासङ्घका अध्यक्ष श्यामप्रसाद भण्डारी, हाइल्यान्ड कफी उद्योगका कृष्ण घिमिरेले बोल्नुभएको थियो । कफी उत्पादनका क्षेत्रमा महìवपूर्ण योगदान पुर्‍याउने उद्योगी, व्यवसायी, प्राविधिकलाई सम्मानीत गरिएका सो कार्यक्रममा कफी उत्पादक सङ्घसंस्थाले स्टल राखी नेपाली कफी प्रदर्शन गर्नुका साथै कफी चाख्ने निःशुल्क व्यवस्था पनि मिलाइएको थियो ।
click here for more information http://www.himalayanjava.com/nepaliCoffee.php

0 comments: